Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
मधेसवादी दलका कारण मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह
महोत्तरी । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कार्यशैलीका कारण मधेस बदनाम र उजाड बनेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा आज आजपा महोत्तरी क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले समृद्ध मधेस बनाउने चाहना र इच्छाशक्ति मधेसवादी दलमा नभएको टिप्पणी गरे ।
‘अहिले तपाईँहरू हेर्नुहुन्छ भने मधेसवादी दलहरूको कुकर्मले मधेसलाई बदनाम गर्ने, उजाड बनाउने काम भएको छ । मुख्यमन्त्री र सरकार बनाउने खेलमा लागेका छन् । सरकार बनाउने र गिराउने खेलले मधेस समृद्ध हुँदैन,’ आजपा अध्यक्ष साहले भने, ‘मधेसलाई उजाड बनाउनेले मधेसलाई समृद्ध बनाउने योजना ल्याउनुपर्थ्यो तर यी मधेसवादी भनाउँदाहरु केवल सरकार बनाउने, गिराउने खेलमा लागेका छन् ।’
मधेसलाई समृद्ध बनाउने कुनै पनि योजना मधेसवादी दलहरूसँग नभएको बताउँदै उनले सत्तामा रमाउन नयाँ नयाँ गठबन्धन बनाउने र भत्काउने खेलमा रमाउन थालेको बताए । मानव विकास सूचांकमा मधेस सबैभन्दा पछाडि रहेको भए पनि सरकारले त्यस बारेमा कुनै चासो नराखेको उनले बताए ।
‘मधेसवादी दलहरूको विगत र वर्तमान स्पष्ट छ । केन्द्रदेखि प्रदेशसम्म केवल सरकारमा जाने र रमाउने बाहेक अरू केही उपलब्धि छैन । मधेसलाई उजाड बनाउनेहरूले मधेसलाई समृद्ध बनाउन के गरे ? गम्भीर प्रश्न रहेको छ । यस बारेमा हामी सचेत भएनौ भने मधेसलाई यिनीहरूले कङ्गाल बनाउने छन् । आउने निर्वाचनमा सचेत भएर मतदान गर्न आवश्यक छ,’ आजपा अध्यक्ष साहले भने ।
मधेसको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका विविध समस्याका बारेमा मौन बस्ने मधेसवादी दलहरू सत्ताका लागि जस्तो सुकै सम्झौता गरेर सरकारमा सहभागी हुने तर काम नगर्ने कारणले आज मधेसका जनता निराश भएको उनले बताए ।
जनताको चाहना, आवश्यकता र अहिलेको चुनौती एवं समस्याका बारेमा आम जनता पार्टीले निरन्तर रूपमा आवाज उठाउँदै आएको बताउँदै आजपा अध्यक्ष साहले आम जनतालाई केन्द्रमा राखेर अगाडी बढिरहेको बताए । आउने दिनमा आम जनताको चाहना, र आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सिँचाई लगायतको विकासका लागि आम जनता पार्टीले ठोस काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
‘मधेसलाई समृद्ध मधेस बनाउन सकिन्छ, त्यो योजना हामीसँग छ । जल, जङ्गल, जमिन सहित सुगम रहेको मधेसलाई समृद्ध मधेस बनाउँदै यहाँका आम जनतालाई हरेक किसिमको सेवा सुविधा दिने योजना हामीले ल्याउनेछौँ,’ आजपा अध्यक्ष साहले भने, ‘तपाईँहरूलाई थाहा छ, मौलापुर नगरपालिकामा निःशुल्क खानेपानी, विधुत छ । शून्य कर नीति छ, शिक्षा, स्वास्थ्य, यातायात, पोषणदेखि छोरीहरूलाई दिने हरेक सेवा सुविधा छ । ती सबै सेवा सुविधाहरू हामीले सम्पूर्ण मधेसवासी नागरिक, हरेक नेपालीलाई दिने योजना छ । त्यसका लागि तपाईँहरूले आम जनता पार्टीलाई साथ र सहयोग गर्नुस् ।