Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
धनुषा–३ बाट राजेन्द्र महतो र राजीव झाको नाम सिफारिस
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी (रामुपा)नेपाल धनुषा जिल्ला समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ को उम्मेदवारका लागि अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष डा.राजीव झाको नाम सिफारिस गरेको छ ।
धनुषा जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’ को अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुवै नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ । अध्यक्ष चौधरीका अनुसार दुवै जनाको नाम आजै केन्द्रमा सिफारिस गरेर पठाइनेछ । २०७४ मा भएको चुनावमा अध्यक्ष महतो कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।
२०७९ को चुनावमा सर्लाहीबाट चुनाव लड्दा पराजय भएका थिए । महतो पुनः धनुषा–३ बाट नै चुनाव लड्ने चर्चा चलिरहेको छ । धनुषा–३ का पार्टीका नेता तथा कार्यकर्ताले पनि अध्यक्ष महतो धनुषाबाट चुनाव लडौँ भनी चाहेको र त्यही कारणले उनको नाम बैठकमा प्रस्ताव भएपछि केन्द्रमा सिफारिस गरिएको बताएका छन् ।
त्यस्तै, उपाध्यक्ष झाको चर्चा पनि धनुषा–३ मा व्यापक छ । उनले यसअघि नै धनुषा–३ बाट चुनाव लड्ने घोषणा गरिसकेका थिए । पार्टीले टिकट नदिए स्वतन्त्र भएपनि चुनाव लड्ने तयारीमा रहेको बेला जिल्ला कमिटीले उनको नाम पनि केन्द्रमा सिफारिस गरेको हो ।
यद्यपि उनले अध्यक्ष महतो धनुषा–३ बाट चुनाव लड्ने इच्छा देखाएमा आफूले समर्थन गर्ने बताए । उनले भने, ‘अध्यक्षज्यू यसअघि यहाँबाट चुनाव जित्नुभएको कारण सम्मान स्वरूप उहाँको नाम सिफारिस गरिएको हो, उहाँले इच्छा देखाएमा कोही नाइँ भन्दैनन् ।’ यद्यपि अध्यक्ष महतो सर्लाहीबाट चुनाव लड्ने तयारी गरिरहेको पार्टीका नेताहरू बताउँछन् ।
यो उम्मेदवारी छनोट प्रक्रियाले पार्टीलाई थप बलियो बनाउने विश्वास लिएको बताउँदै उनले पार्टीले मधेसका अधिकार, समानता, सामाजिक न्याय तथा जनजीविकाका मुद्दालाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने तयारी रहेको बताए ।
जिल्ला समितिको बैठकमा जिल्ला समितिका पदाधिकारीसहित केन्द्रीय उपाध्यक्ष झा, केन्द्रीय सचिव सञ्जय चौधरी, अनुशासन विभाग प्रमुख सञ्जय चौधरी, राजनीतिक समिति सदस्य द्वय दीपक यादव, विजय यादवलगायतको उपस्थिति थियो ।