Nepal Newsbox
२०८३ वैशाख ४ गते , शुक्रबार
Nepal Newsbox
नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर
काठमाडौँ । एक लाख रुपैयाँ घुस लिएको आरोपमा वीरगञ्जस्थित नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध घुस लिएको आरोपमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार, नापी कार्यालय वीरगन्जका सर्वेक्षक राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्की वीरगन्जमा कार्यरत कार्यालय सहयोगी उपाध्यायले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई १ लाख रुपैयाँ घुस माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई उक्त रकम लिइसकेको अवस्थामा २०८२ मंसिर २ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायको आपसी मिलेमतो तथा योजनामा वीरगन्ज महानगरपालिका वडा नं. २५ स्थित कित्ता नं. ५५ को जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरी लिएको स्थापित भएको आयोगले जनाएको छ।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।