Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
विराटनगरमा ३० जना बिचौलिया पक्राउ, विरोधमा तालाबन्दी
विराटनगर । सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ । बिचौलियाको अरोपमा दुई कार्यालयमा काम गर्ने लेखापढी व्यवसायी पक्राउ परेका हुन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा लिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।
‘जिल्ला प्रशासनमा आउने सेवाग्राहीलाई काम गर्न भित्र कर्मचारीलाई पैसा बुझाउनु पर्छ भन्दै पैसा मागेको गुनासो आयो, मालपोत कार्यालय भित्र प्रवेश गरेर ढड्डा हेर्ने, कार्यालय परिसरमै टेवलकुर्सी राखेर बसेको देखियो,’ उनले भने, ‘सेवाग्राहीलाई अनावश्यक दु:ख दिएपछि बिचौलियालाई पक्राउ गरेका छौं ।’
उनका अनुसार मंगलबार दिउँसो जिल्ला प्रशासनबाट १० र मालपोत कार्यालयबाट २० जनालाई पक्राउ गरेको हो ।