Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
वीरगञ्जको सीमा नाकाबाट १६३ किशोरीको उद्धार
वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो ।
माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ३० जनालाई माइती नेपालको संरक्षण गृहमा राखिएको बताइन् । “बाँकी ३३ जना महिला तथा किशोरीलाई भने नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको थियो”, उनले भनिन् ।
माइती नेपालले सन् २०२४ मा सीमाक्षेत्रबाट एक सय ३५ जना महिला तथा किशोरीको उद्धार गरेको थियो भने सन् २०२३ मा भने एक सय ९२ जना महिला तथा किशोरीको उद्धार गरेको थियो । “जोखिमपूर्ण अवस्थामा उद्धार गरिएकामध्ये ४० जना किशोरी १८ वर्ष मुनिका रहेका छन्”, पर्यवेक्षक पौडेलले भनिन्, “१९ वर्षमाथिको सङ्ख्या भने एक सय २३ जना रहेका छन् ।”
माइती नेपालले सन् २०२५ मा करिब २० हजार दुई सय ३१ सवारी साधनको जाँच गरेको थियो भने २२ हजार पाँच सय जनालाई मानव बेचबिखन विरुद्धको जनचेतनामूलक कार्यक्रम गरेको थियो ।