Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण दिन भेनेजुएलाका उपराष्ट्रपतिको माग
एजेन्सी । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति निकोलस मदुरो जीवितै रहेको प्रमाण माग गरेकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भनेपछि उपराष्ट्रपति रोद्रिगेजले मदुरो जीवितै रहेको प्रमाण माग गरेकी हुन्।
एक सरकारी रेडियोसँगको कुराकानीमा उपराष्ट्रपति रोद्रिगेजले मदुरोलाई राखिएको स्थान र उनी जीवितै रहेको प्रमाण माग गरेकी हुन्।
राष्ट्रपति ट्रम्पले मदुरोलाई पक्राउ गरी देशबाहिर लगिएको भनेका छन्।
यद्यपि उनलाई कहाँ राखिएको छ भन्ने विषयमा भने ट्रम्पले खुलाएका छैनन्।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजेले आफ्नो देश कसैको दबाबका अगाडि नझुक्ने बताएका छन्।
अमेरिकी आक्रमणमको घटनापछि देशभरि सेना परिचालन गरिएको जानकारी दिँदै रक्षामन्त्री लोपेजले मदुरोकै निर्देशनमा सेना परिचालन गरिएको बताएको तर मदुरो कहाँ छन् भन्ने चाहिँ नखुलाएको न्यूयोर्कबाट प्रकाशित हुने अनलाइन सिबिएस न्युजले जनाएको छ।
'उनीहरूले हामीमाथि आक्रमण गरेका छन्। तर आफ्नो वशमा पार्न सक्दैनन्,' रक्षामन्त्री लोपेजले भनेका छन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार भेनेजुएलाको स्थानीय समयअनुसार बिहान २ बजे विस्फोटका आवाजहरू सुनिएका थिए।
विस्फोटको ज्वालाले ती क्षेत्रको आकाश रातो देखिएको र शहरका विभिन्न ठाउँबाट धुवाँका मुस्लोहरू उडिरहेको तस्बिर र भिडिओ सार्वजनिक भएको थियो।
विस्फोटपछि भेनेजुएलाको सञ्चार मन्त्रालयले विज्ञप्ती जारी गरी यसमा अमेरिकाको हात रहेको भन्दै कडा शब्दमा निन्दा गरेको छ।
विस्फोटको घटनापछि राष्ट्रपति मदुरो कतै नदेखिएको पनि न्युयोर्क टाइम्सले जनाएको छ।
भेनेजुएलाका अधिकारीहरूले राष्ट्रपति मदुरोको स्थितिबारे खुलाएका छैनन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोमाथि धाँधली गरेर चुनाव जितेको, लागुऔषध ओसार पसार गरेको लगायतका आरोप लगाउँदै उनलाई सत्ताबाट हटाउनुपर्ने बताउँदै आएका थिए।
उनी आफै सत्ताबाट हट्दा बुद्धिमानी हुने पनि उनले ट्रम्पले बताउँदै आएका थिए।
मदुरोलाई सत्ताबाट हटाउन ट्रम्पले भेनेजुएलामाथि विभिन्न प्रतिबन्धसमेत लगाएका थिए।
ठूलो परिमाणमा तेल बोकेका ट्यांकरहरू कब्जा गर्नेदेखि क्यारेबियन सागरमा डुंगाहरूलाई लक्ष्य गरेर हमला गर्ने लगायत अन्य थुप्रै तरिकाले ट्रम्पले मदुरोलाई सत्ता छाड्न दबाब दिँदै आएका थिए।
यद्यपि ट्रम्पको आरोपमा सत्यता नरहेको भन्दै मदुरोले संवादमार्फत विवाद समाधान गर्न तयार रहेको बताउँदै आएका थिए।
उनले अमेरिकाले भेनेजुएलाको तेल लगायतका प्राकृतिक स्रोतमाथि आँखा लगाएको र आफू कुनै हालतमा त्यसो हुन नदिने पक्षमा रहेको बताउँदै आएका थिए।