Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
जसपा नेपाल र लोसपाको एकता प्रक्रिया अन्तिम चरणमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
पुस १३ गते गते दुई पार्टीबिच एकता गर्ने सहमति भएको थियो । सोहीअनुसार सहमतिलाई पूर्णता दिन दुई पक्षको बिचमा कुराकानी चलिरहेको नेताहरूले बताएका छन् ।
हालसम्म भएको सहमति अनुसार एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा)नेपाल र चुनाव चिन्ह छाता रहने सहमति भइसकेको छ । एकीकृत पार्टीको एउटा राष्ट्रिय समन्वय समिति र केन्द्रीय सचिवालय रहने सहमति भएको छ ।
जसपा नेपालका एक नेताले भने, ‘दुवै पार्टीको सबै संरचना यथावत् नै रहन्छन्, एउटा समन्वय समिति र अर्को केन्द्रीय सचिवालय गठन गरेर पार्टीको काम कारबाही अगाडि बढाउने सहमति भएको छ । चुनावपछि अन्य संगठन संरचनालाई पूर्णता दिइनेछ ।’
पार्टी नेतृत्व, चुनावमा सिट बाँडफाँडलगायतको विषयमा कुराकानी भइरहेका छन् । चाँडै नै सबै कुरा टुग्यांएर चुनावका लागि अगाडि बढ्ने बताइएको छ । जसपा नेपालको कार्यकारिणी अध्यक्षमा उपेन्द्र यादव नै रहने छन् ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई सम्मानजनक पदमा राख्ने समझदारी भएको छ ।