Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
वीरगञ्जमा 'कर्फ्यु' हट्यो
पर्सा । विगत केही दिनदेखि अशान्त बनेको वीरगञ्जमा आज दिउँसो ३:३० बजेदेखि कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले दुई समुदायबीच सहमति जुटाएपछि स्थिति सामान्य बनाउन कर्फ्यु हटाउने निर्णय भएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता राजनीतिक दल र धार्मिक अगुवाहरूले जनाएका छन्। अब उप्रान्त कुनै पनि विरोध कार्यक्रम गर्नुअघि प्रशासनको अनुमति लिई ज्ञापनपत्र मात्र बुझाउने सहमति भएको छ। सामाजिक र धार्मिक सद्भाव बिथोल्ने खालका गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय समेत बैठकले गरेको छ।
भविष्यमा हुन सक्ने विवाद समाधान र सद्भाव कायम राख्न बैठकले एक 'स्थायी सद्भाव संयन्त्र' गठन गरेको छ। यस संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि र अलि असगर मदनी रहेका छन्। संयन्त्रमा राजनीतिक दल, पत्रकार महासङ्घ र नागरिक समाजका प्रतिनिधिको पनि सहभागिता रहनेछ।
बैठकले सञ्चारकर्मीहरूलाई पनि धार्मिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। सबै पक्षले आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम कायम राख्न लगाउने प्रतिबद्धता व्यक्त गरेसँगै वीरगञ्जको जनजीवन बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ।